उज्यालो नवास्दैको प्रातकाल
जिजीविषा ढाकर वोकेर
मान्छेहरु
उडान भर्छन् टाढा सडकको ढाड कुल्चदै
उस्तै सडक भित्रको म
जिउनुले निचोरीदै
अड्कल्छु नाप
अस्तित्वको
महानताको
पाइतालाको
र त्यसका आयतनहरु
रुखवाट झरेको पात
वतासको घुस्साले विनावित्थामा भकुरेर
दोक्च्याए झैं
दिनचर्याको खेल मैदानमा
घमसान वुलफाइट जुझ्दा
वेस्वादले पराजित भएको म
लखतरान ढल्छु साझ
दिनभर स्मृतिपटमा कोचारेका
अथाह भोगाइहरु
डाम्छु अनहार भरी
र घटुक्क निल्छु तितो अनुभति
स्वभिमान ठड्याएर औसत जिवन वाच्नलाई
व्यहोर्छु अनेकौ हैरानीहरु
अप्ठ्यारो परिस्थितिमा उपेक्षाले डढेर
कोसौ दुर भाचिन्छु आफ्नै झुण्डवाट
जहा आत्मियता रोपेर
निमोठ्नु पर्छ नफक्रदै
विहानीले आखा नउघार्दै
अनियन्त्रित समस्याहरुको भिडले
मेरै विरुद्ध
नारा घन्काउछ
जलुस तन्काउछ
र वर्साउछ ढुङ्गामुढाहरु
यसरी हमला सहनु पर्दा
लाग्छ ठुलै अपराधी हु म
तर नियति
जव वढ्दै आउछ म तिर
तव त्यसले टेकिने सडक वन्न वाहेक
वाकी उपाय रहन्न कुनै