वेनाप समयको क्यान्भास

जसको वक्षस्थलमा

किरीङमिरीङ

धर्सैधर्सा र थोप्लाहरु

लाग्छ अमूर्त कलकारले जीवन रित्याएर

वैश उभ्याए जस्तो

समग्रमा

अमूर्त आकृतिहरुको कोलाहल

जस्ले वातावरण नै अमूर्त वनेको छ

त्यहा धकेलेर आफैलाई फ्याक्छु दृष्टि

र छाम्छु

कोण प्रतिकोणवाट

अवस्थित

विम्व र प्रतीकहरु

रङ्गले फैलाएका तरङ्गहरु

जसले जसरी पोते पनि

आफ्नै शैलीमा वाच्ने

यी रेखाचित्रहरु

जीएकाछन् अनेकार्थले

म रङ्गमा हराउने कुचिकार होइन

तर पनि रङ्गाउनुको वाध्यताले

घोल्दैछु वेअन्दाज मस्तिष्कमा रङ्गहरु

सोचिरहेछु चित्रकारले झै

कुन रङ्गमा के सामेल गरौ

र चाहेको आकार दिउ किरीङमिरीङलाई

सोचिरहेछु धर्सालाई

कहावाट कहा सम्म तानौ -

र सरल ढङ्गले विश्वास जोडौ

सोचिरहेछु थोप्लाहरुको अस्तित्वलाई

जीउनुको मान्यताले

कसरी व्युझाउ -

सोच्दासोच्दै

वदलिन्छु अमूर्त रेखाचित्रहरुमा

ओहो त्यहा पनि उस्तै संसार

जीवन

सपना

मैले भोगे र देखेका सवै सवै कुराहरु

सुनेको थिए

सपनाको देश हुन्छ भनेर

के यथार्थ हुन् -

आखा भरी छचल्किएका दृश्यहरु

रुमलिन्छु अन्योलमा

तर पनि वाच्नुसंग जीवनलाई

दौडाउछु नया भूगोलमा

यसरी नै

वेनाप समयको क्यान्भासमा

उद्घाटिक रङ्ग विरङ्गका आकृतिहरु

र त्यसका प्रकृतिहरु

केलाउदै थाकेको छु हरदिन

किनभने आजको दुनिया

औपचारीकतामा खुम्चिए पछि

आफन्तको परिधी

झन अमुर्त लाग्छ

क्यान्भासको रेखाचित्रहरु भन्दा पनि

तै पनि आयतनमा

कोर्न खोज्छु अमूर्त आफ्नै

जिवनचित्र

Advertisement